
जेठ २२, दैलेख
जिल्लाको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्वास्थ्यको क्षेत्रमा प्रभावकारी ढंगल काम गर्ने बताएका छन् । नगरपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष ०७८÷८० का लागि आयोजना गरेको बजेट तर्जुमा पूर्व तयारी बैठकमा बोल्दै नगर प्रमुख शर्माले यस्तो बताएका हुन् ।
उनले विगतका दिनमा स्वास्थ्य क्षेत्रमा भएका कामहरुलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र नागरिकको आवश्यक्ताका आधारमा स्वास्थ्य क्षेत्रमा थप नयाँ कार्यक्रम थप्दै जाने बताए । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै आएको, यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने शर्माको भनाई छ ।
उनले नारायण नगरपालिकाले एम्बुलेन्स सेवा केही दिन भित्र सञ्चालनमा ल्याइने बताए । नगर प्रमुख शर्माले स्वास्थ्य क्षेत्र सुधारका लागि नगरपालिकाले गुरु योजना बनाएर काम गर्ने बताएका छन् ।
उनले नारायणमा रहेका ६ वटा स्वास्थ्य संस्थामा जनताको सुविधाका लागि थप सुविधा सहितका कार्यक्रम लागू गरिने बताए । शर्माले जेष्ठ नागिरकको स्वास्थ्य परीक्षणका लागि घरदैलो अभियान सुरु गरिने बताए ।
उनले नारायणमा रहेका महिला तथा बालबालिकाका संरक्षणमा थप कार्यहरु अघि बनाउँने योजना रहेको सुनाए । पूर्वाधार विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरि आवश्यक्ताका आधारमा काम गर्दै जाने नगर प्रमुख शर्माको भनाई छ ।
नगर प्रमुख शर्माले नारायणको विकासका लागि सबै तहका व्यक्तिले सुझाव तथा हुने गर्ने कामहरुमा समन्वय गर्न आग्रह गरे । बैठकमा स्वास्थ्य क्षेत्रको सामाजिक जवाफदेही (समाजिक परीक्षण) नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले नारायण स्वास्थ्य शाखाबाट नागरिकले पाउने सेवा प्रभावकारी रुपमा सञ्चालन हुँदै आएको बताए । बैठकका सहभागिहरुले नगरपालिकाले नागरिकलाई प्रदान गर्ने सेवाहरु, स्थानीय सरकारले जनताका लागि गर्ने काम पारदर्शी ढंगबाट अगाडी बढाउन आग्रह गरेको थिए ।










